तमु धि का संरक्षकको स्वागतमा तमु समाजको कार्यक्रम


लण्डन । लण्डनस्थित तमु समाज यूकेले तमु धि नेपालका संरक्षक मे रि लक्ष्मीप्रसाद गुरुंगलाई एक कार्यक्रम गरी लण्डनमा स्वागत गरेको छ । दुई साताअघि बेलायत आएका गुरुंगको स्वागतार्थ तमु समाजले आइतबार ह्यारोस्थित एभरेष्ट लंगमा सो कार्यक्रम आयोजना गरेको थियो । संरक्षक गुरुंगको सम्मान तथा नेपालमा भुकम्पपछिको अवस्था र राहत वितरणका प्रक्रियाबारे अन्तरक्रिया गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुंगले नेपालीपत्रलाई बताए । 

अध्यक्ष अर्जुनकुमार गुरुगको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार तथा कार्यसमिति सदस्य गरी झण्डै दुई दर्जन सहभागी थिए । कार्यक्रममा तमु धि नेपालका संरक्षक गुरुंगले भुकम्पका कारण निम्तिएको विपतको अवस्थाका साथै तमु धि लगायत अन्य क्षेत्रबाट सञ्चालन भइरहेका राहत कार्यक्रमबारे सहभागीलाई जानकारी गराएका थिए । उनले भौगोलिक जटिलता, यातायातको असुविधा मात्र नभई कतिपय अवस्थामा सम्बन्धित प्रशासनबाट स्वकिृति नमिल्ने जस्ता कारणबाट समेत राहत वितरणमा कठिनाइ आएको बताए । राहत बांडन जानुअघि त्यस क्षेत्रबारेको अध्ययन गरी कति क्षति भएको, पिडितहरुले त्यसअघि राहत पाए नपाएको लगायतका जानकारी लिनुपर्ने र त्यसो गर्न सके मात्रै सहि ठाउंमा राहत पुग्न सक्ने उनको धारणा थियो ।  कार्यक्रमको सञ्चालन समाजका संयोजक केदारबहादुर गुरुंगले गरेका थिए । संरक्षक गुरुंग यहि जुन महिनाको अन्तीम साता नेपाल फर्किनेछन ।

Previous Nepal Earthquake Victims Donation Collection updated List of Donors as of 04 June 2015
Next तमु समाज युकेका उपाध्यक्षलाई स्वागत