काठमाडौँ, १८ फेब्रुअरी २०२६
केन्द्रीय तमु कलाकार संघ नेपालले बेलायतबाट नेपाल भ्रमणमा रहनुभएका चार जना विशिष्ट व्यक्तित्वहरूलाई एक विशेष समारोहका बीच भव्य स्वागत तथा सम्मान गरेको छ।
संघका केन्द्रीय अध्यक्ष श्री सागर गुरुङज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा तमु समाज युकेका संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ, तमु धीं युकेका वरिष्ठ उपाध्यक्ष श्री पर्शु गुरुङ, गोरखा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष श्री टेक मान गुरुङ र तमु धीं युके आमा समूहकी वरिष्ठ उपाध्यक्ष श्रीमती नन्दा गुरुङलाई स्वागत एवं सम्मान गरिएको हो।
संस्थागत सम्बन्ध र सहकार्यमा जोड:
सम्मान ग्रहण गरेपछि मन्तव्य राख्दै तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संघको आतिथ्यताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो:
“यो सम्मानले बेलायतस्थित तमु संस्थाहरू र नेपालका कलाकारहरूबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउनेछ। आगामी दिनमा कला, संस्कृति र सामाजिक कार्यमा हाम्रो पारस्परिक सहकार्य अझ सशक्त हुने विश्वास लिएको छु।”
उहाँले तमु कलाकार संघ नेपालको निरन्तर प्रगति र सम्पूर्ण कलाकारहरूबीचको एकता तथा सफलताको कामना समेत गर्नुभयो।
काठमाडौँमा सम्पन्न उक्त समारोहमा संघकी निर्वतमान अध्यक्ष शर्मिला गुरुङ, कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संघका महासचिव श्री पृथ्वी गुरुङले गर्नुभएको थियो।


