तमु समाज युकेद्वारा ल्होछार / ल्होसारको अवसरमा दुई वरिष्ठ समाजसेवी सम्मानित
तमु समाज युकेले तमु जातिहरूको महान् पर्व त ल्होछार/ल्होसार २०२६ को शुभ अवसरमा समाजमा दीर्घकालीन, निष्ठावान् र समर्पित सेवा पुर्याउँदै आउनुभएका दुई वरिष्ठ समाजसेवी—श्री याम बहादुर गुरुङ र श्री खेम बहादुर गुरुङलाई ‘विशिष्ट समाज सेवा सम्मान (Lifetime Achievement Award – २०२६)’ प्रदान गरेको छ।
उक्त सम्मान ३ जनवरी २०२६ का दिन लन्डनस्थित ह्यारो लेजर सेन्टरको बाइरोन हलमा आयोजित भव्य समारोहबीच प्रदान गरिएको हो। कार्यक्रम लन्डन बारो अफ ब्रेन्टका मेयर काउन्सिलर रायन ह्याकको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
सम्मान प्रदान गर्दै प्रमुख अतिथि मेयर रायन ह्याकले नेपाली समुदायले बेलायतको सामाजिक, सांस्कृतिक तथा मानवीय क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो।
उहाँले भन्नुभयो, “तमु समाज युके नेपाली समुदाय बेलायतको बहुसांस्कृतिक समाजको महत्वपूर्ण हिस्सा हो। आज सम्मानित व्यक्तित्वहरूले समुदाय र मानव सेवाका लागि देखाउनुभएको समर्पण सबैका लागि प्रेरणाको स्रोत बनेको छ।”
उक्त समारोहमा तमु समाज युकेकी अध्यक्ष विन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङले सम्मानित व्यक्तित्वहरू र उहाँहरूका धर्मपत्नीहरूलाई खादा, फेटा, दोसल्ला तथा पुष्पगुच्छा प्रदान गरी सम्मान गर्नुभएको थियो। अध्यक्ष गुरुङ घलेले सम्मानित व्यक्तित्वहरूको दीर्घकालीन योगदानको स्मरण गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
तमु समाज युकेले आफ्नो परम्परालाई निरन्तरता दिँदै हरेक वर्ष ल्होछार/ल्होसारको अवसरमा समाजको नेतृत्व तहमा रही कार्यकारिणी जिम्मेवारी सम्हाल्दै अतुलनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई Lifetime Achievement Award प्रदान गर्दै आएको जनाएको छ।
प्रविधि र आर्थिक सुदृढीकरणका सारथि: श्री याम बहादुर गुरुङ
नेपालको पोखरा महानगरपालिका–२३, कुँद्बिडाँडा स्थायी घर भई हाल लन्डन, युकेमा बसोबास गर्दै आउनुभएका श्री याम बहादुर गुरुङ सन् २०१० देखि तमु समाज युकेमा सक्रिय रहँदै आउनुभएको छ।
उहाँले सन् २०१२ देखि वेबमास्टरको जिम्मेवारी सम्हाल्दै समाजको डिजिटल उपस्थिति सुदृढ र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। सन् २०१८ देखि २०२१ सम्म पाँचौँ कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा उहाँकै नेतृत्वमा आयोजित भव्य च्यारिटी डिनरमार्फत उल्लेखनीय कोष संकलन भई तमु समाज युकेले आफ्नै सामुदायिक भवन खरिद गर्न ऐतिहासिक सफलता हासिल गरेको थियो।
आर्थिक कारोबारमा उच्च पारदर्शिता र इमानदारिता कायम गर्दै उहाँले समाजको आय–व्यय विवरण चुस्त-दुरुस्त राखी छैटौँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।
उहाँकी धर्मपत्नी श्रीमती सारा गुरुङले तेस्रो कार्यसमितिमा सदस्यको रूपमा सेवा गर्नुभएको थियो। हाल उहाँ आमा समूहकी सदस्य तथा समाजका कार्यक्रमहरूमा प्राथमिक उपचारिका (First Aider) का रूपमा सक्रिय रहँदै समाजसेवामा निरन्तर योगदान दिँदै आउनुभएको छ।
यी सबै अतुलनीय योगदानको कदरस्वरूप तमु समाज युकेले श्री याम बहादुर गुरुङलाई ‘Lifetime Achievement Award – २०२६’ द्वारा ससम्मान विभूषित गरेको हो।
परोपकार र कुशल आर्थिक व्यवस्थापनका प्रतीक: श्री खेम बहादुर गुरुङ
नेपलाको पर्वत जिल्ला, कुश्मा नगरपालिका–३, दुर्लुङ कोटथर स्थायी घर भई हाल लन्डन, युकेमा बसोबास गर्दै आउनुभएका श्री खेम बहादुर गुरुङ सन् २०१० देखि तमु समाज युकेमा आबद्ध भई निष्ठावान् र परोपकारी सेवामा सक्रिय रहनुभएको छ।
पाँचौँ कार्यसमितिमा सक्रिय सदस्यका रूपमा सेवा गर्नुभएका उहाँले सन् २०२१ देखि २०२४ सम्म छैटौँ कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो। उहाँको कार्यकालमा नेपाल तथा पाकिस्तानका बाढीपीडित, युक्रेन युद्धबाट प्रभावित नागरिक, क्यान्सर रोगीहरूका लागि उल्लेखनीय राहत संकलन गरिएको थियो। साथै, बेलायत आएको केही दिनमै निधन भएका नेपाली विद्यार्थीको परिवारलाई सहयोग जुटाउने कार्यमा पनि उहाँको भूमिका महत्वपूर्ण रह्यो।
नेपालमै पुगेर क्यान्सर पीडितको घरमै राहत हस्तान्तरण गर्ने जस्ता प्रत्यक्ष मानवीय सेवामा उहाँले विशेष सक्रियता देखाउनुभयो। कार्यकालको अन्त्यमा सामाजिक भवनको मोर्टगेज घटाउन तथा च्यारिटी डिनर नाइट सफलतापूर्वक सञ्चालन गर्दै ठूलो कोष संकलन गरी सातौँ कार्यसमितिलाई मजबुत आर्थिक आधार हस्तान्तरण गर्नुभएको थियो। हाल उहाँ तमु समाज युकेको सल्लाहकार रहनुभएको छ।
उहाँकी धर्मपत्नी श्रीमती भद्र गुरुङ छैटौँ कार्यसमितिमा सक्रिय सदस्य तथा हाल आमा समूहकी सल्लाहकारका रूपमा समाजलाई निरन्तर ऊर्जा प्रदान गरिरहनुभएको छ।
यी सबै योगदानको उच्च मूल्याङ्कन गर्दै तमु समाज युकेले श्री खेम बहादुर गुरुङलाई पनि ‘Lifetime Achievement Award – २०२६’ द्वारा ससम्मान विभूषित गरेको जनाएको छ।
तमु समाज युकेले श्री याम बहादुर गुरुङ र श्री खेम बहादुर गुरुङको दीर्घकालीन, निष्ठावान् तथा अतुलनीय योगदानको कदर गर्दै प्रदान गरिएको यो सम्मान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ।
शिब कुमार गुरुङ- लन्डन






