तमु समाज युकेले भव्यताको साथ मनायो १८औं वार्षिकोत्सव


तमु समाज युकेले भव्यताको साथ मनायो १८औं वार्षिकोत्सव

लन्डन, अक्टोबर २०२५ – तमु समाज युकेले आफ्नो स्थापना दिवसको १८औं वार्षिकोत्सव भव्य रूपमा लन्डनको विम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै समाज भवनमा सम्पन्न गरेको छ।

कार्यक्रम समाजकी अध्यक्ष श्रीमती बिन्दुकुमारी गुरुङ (घले)को अध्यक्षतामा सम्पन्न भएको थियो। लन्डन बरो अफ ब्रेन्टका लागि बेलायतका राजका प्रतिनिधि Mei Sim Lai OBE DL प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको उद्घाटन अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, प्रमुख अतिथि Mei Sim Lai OBE DL, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन (रि.) डेम बहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङले संयुक्त रूपमा गर्नुभयो।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उनकी धर्मपत्नी जयन्ती गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन रि. डेम बहादुर गुरुङ तथा उनकी धर्मपत्नी चन्द्र सुवा गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, शिवकुमार गुरुङ, तमू धीं यूकेका पूर्वअध्यक्ष तथा तमू समाज युकेका सल्लाहकार सुवसिं गुरुङ (BEM), गोर्खा जिल्ला गुरुङ समाजका संस्थापक अध्यक्ष तथा तमु समाज युकेका सल्लाहकार ले. रि. थमप्रसाद गुरुङ, तनहुँ जिल्ला समाज युकेका संस्थापक अध्यक्ष, संरक्षक तथा तमु समाज युकेका सल्लाहकार लेख गुरुङ, गोर्खा जिल्लाका पूर्वअध्यक्ष तथा तमु समाज युकेका सल्लाहकार ले. रि. पञ्चबहादुर गुरुङ लगायतका पदाधिकारी ट्रष्टिज ,सल्लाहकार , आमा समूह, युवा समूह तथा बेलायतभरिबाट आएका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन महासचिव सुब घलेले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष भिमबहादुर गुरुङले दिनुभएको थियो। महासचिव घलेले तमु समाज युकेको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्मका उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले संस्थाको १८ वर्षको यात्रा, उपलब्धि र आगामी योजनाबारे आफ्ना विचार राखे। शुभकामना मन्तव्यमा निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, शिवचन्द्र गुरुङ ,पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संस्थाको निरन्तर प्रगति र एकतालाई सराहना गर्दै आगामी दिनहरूमा अझ उज्ज्वल भविष्यको कामना गर्नुभयो।
उहाँहरूले संस्था १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दै परिपक्वता प्राप्त गरेको सन्दर्भमा, यस यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण पूर्व तथा वर्तमान पदाधिकारी, आजीवन सदस्य, दाता तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा नव–आजीवन सदस्यहरूलाई प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो। साथै, उच्च शिक्षा हासिल गरेका र खेलकुदमा उत्कृष्टता देखाएका युवा सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सुबिन घले (स्नातकोत्तर डिग्री प्राप्त), संगम गुरुङ (मुई थाई खेल विजेता), र धरन रन  तथा युके रनका अध्यक्ष सन्तोष राई (लन्डन म्याराथन–२०२५ का गिनिज बुक कीर्तिमानधारी)लाई तमु समाज युके उत्कृष्ट सम्मानपत्र–२०२५ प्रदान गरी सम्मान गर्नुभयो।

त्यसैगरी, समाजका सहयोगी व्यवसायी प्रकाश गौतम (जय श्री क्रिष्ण  ज्वेलर्स, साउथ ह्यारो)लाई समाजमा आर्थिक तथा भौतिक सहयोगको कदरस्वरूप समाजको लोगो अंकित प्ल्याक  मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
नेपालबाट आएका चर्चित कलाकार सुरज गुरुङलाई कलाक्षेत्रमा पुर्‍याएको योगदानका लागि ‘तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरिएको थियो।
त्यस्तै, समाजको प्रगति र उन्नतिका लागि विशेष योगदान पुर्‍याउनु भएका आजीवन सदस्यहरू  श्री गुमानसिं गुरुङ,  श्री बुद्धिबहादुर गुरुङ, सुश्री बिना गुरुङ, श्री नरबहादुर गुरुङ , श्री पुर्ण बहादुर गुरुङ र युवा सदस्य सुश्री  ओसिएन रानालाई पनि ‘तमू समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा अभिनन्दन गरिएको थियो।

सम्मानकै क्रममा, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेम बहादुर गुरुङलाई नेपाल तथा बेलायतका विभिन्न संघ–संस्थामा सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्‍याएको कदरस्वरूप ‘तमु समाज युके विशिष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा सम्मानित गरिएको थियो।
त्यसै अवसरमा प्रमुख अतिथि Mei Sim Lai OBE DLलाई स्वागतस्वरूप दोसल्ला ओढाई, समाजको लोगो अंकित प्ल्याक  मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन (रि.) डेम बहादुर गुरुङले बधाई तथा शुभकामना मन्तव्य दिँदै तमु समाज युके र तमु प्ये ल्हु संघबीचको सम्बन्ध  अत्यन्त घनिष्ट र सधैं सहकार्यपूर्ण रहेको उल्लेख गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाउनुभयो।

प्रमुख अतिथि Mei Sim Lai OBE DLले सम्बोधन गर्दै तमु समाज युकेको एकता, सहयोग र सामुदायिक सेवाको प्रशंसा गर्नुभयो। उहाँले महिला र युवाको भूमिकाको महत्त्वमा जोड दिँदै बेलायतको विन्चेस्टरस्थित गोर्खा संग्रहालयको मर्मत तथा काठमाडौँका विभिन्न विद्यालयका १५ जना छात्राहरूको शिक्षाका लागि आफू आबद्ध  Pan Asian Women’s Association मार्फत सहयोग गर्दै आएको जानकारी दिनुभयो। साथै, गोर्खा समुदायले बेलायती सेनामा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै तमु समाज युकेलाई आगामी दिनमा अझ सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा अध्यक्ष श्रीमती बिन्दु घलेले प्रमुख अतिथि, अन्य अतिथिहरू, पदाधिकारी, कलाकार, युवा तथा आमा समूहका सदस्यहरू र कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरूमा समाजले सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, समाजको १८औं वार्षिकोत्सव समारोहमा सम्मानित हुनुभएका व्यक्तित्वहरू तथा उच्च शिक्षा हासिल गर्नुभएका युवाहरूलाई हार्दिक बधाईसहित निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा आमा समूह, युवा समूह र बुबा समूहका आकर्षक नृत्य प्रस्तुतीहरू तथा डीजे प्रज्वलमान गुरुङका प्रस्तुतीहरूले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।
साथै, समाजले निःशुल्क भोजन तथा पेय पदार्थको व्यवस्था गरेको थियो भने वार्षिक उत्सवको केक सल्लाहकार ई. काँसिराज बोहराले प्रायोजन गर्नुभएको थियो।

साँझ ६ बजे सुरु भएको कार्यक्रम राति १० बजेसम्म उत्साहपूर्वक सञ्चालन भएको थियो।

शिब कुमार गुरुङ

तमु समाज युके

 

Previous तमु समाज युकेको हार्दिक निमन्त्रणा
Next मुईथाई फाईटर संगम गुरुङलाई हार्दिक बधाई तथा शुभकामना