तमु समाज यूकेद्वारा जेष्ठ नागरिक लक्षित हेल्थ एण्ड सेफ्टी तालिम सम्पन्न


तमु समाज यूकेद्वारा जेष्ठ नागरिक लक्षित हेल्थ एण्ड सेफ्टी तालिम सम्पन्न

पश्चिम लन्डनस्थित वेम्ब्लीको बारहम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा तमु समाज यूकेले १२ जुन २०२५, बिहीबारका दिन जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै हेल्थ एण्ड सेफ्टी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बेलायतको श्रम सुरक्षासम्बन्धी कानुनी आवश्यकताअनुसार स्वास्थ्य तथा सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

नेपालबाट बेलायत आउनुभएका धेरैजसो जेष्ठ नागरिकहरू रोजगारीमा संलग्न नभएको वा उमेरका कारण कार्यक्षेत्रमा सक्रिय हुन नसकेको पृष्ठभूमिमा, यस्ता व्यक्तिहरूले यस्ता आवश्यक तालिम प्राप्त गर्ने अवसर नपाएको अवस्थालाई ध्यानमा राखी कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

प्रशिक्षण कार्यक्रम UK Health & Safety Environmental Training Limited का परामर्शदाता प्रशिक्षक म्याट एन्सेल (Consultant Trainer Matt Ansell) द्वारा सञ्चालन गरिएको थियो। अंग्रेजी भाषामा असहज हुने सहभागीहरूको सहजताको लागि तमु समाज यूकेका सचिव क्याप्टेन तेसरजंग गुरुङले अनुवादकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

तालिममा समेटिएका प्रमुख विषयहरूमा निम्न समावेश थिए:

  • आधारभूत स्वास्थ्य तथा सुरक्षा चेतना
  • अग्नि सुरक्षा
  • प्राथमिक उपचार
  • म्यानुअल ह्यान्डलिङ
  • खतरनाक पदार्थहरूको नियन्त्रण (COSHH)
  • स्क्रिन उपकरणको सुरक्षित प्रयोग (DSE)
  • जोखिम मूल्यांकन तथा व्यवस्थापन
  • कार्य उपकरणको सुरक्षित प्रयोग

कार्यक्रममा पश्चिम लन्डन वरपरका धेरै जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च Lottery Funds को प्रायोजनमा गरिएको थियो। प्रशिक्षणको प्रारम्भमा प्रशिक्षक म्याट एन्सेलको संक्षिप्त परिचयपछि क्याप्टेन तेसरजंग गुरुङले कार्यक्रमको उद्देश्य र स्वरूपबारे जानकारी दिनु भएको थियो।

तालिमको समापनमा तमु समाज यूकेका संस्थापक अध्यक्ष श्री चित्रबहादुर गुरुङले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो। साथै, प्रशिक्षक म्याट एन्सेल, तमु समाज युकेका सचिब क्याप्टेन तेसरजंग गुरुङ, कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सल्लाहकार श्री ईमान घले तथा आजीवन सदस्य श्री बालकृष्ण गुरुङप्रति विशेष धन्यवाद प्रकट गर्नुभयो। कार्यक्रममा खाजा तथा पेय पदार्थको व्यवस्थापन तमु समाज यूकेले गरेको थियो।

तमु समाज यूकेले भविष्यमा पनि यस्ता उपयोगी तालिमहरू नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएको छ। साथै, समाजले हरेक बिहीबार जेष्ठ नागरिकहरूका लागि अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको छ भने नेपाली मूलका  बाल बालिकाहरूका लागि नेपाली भाषा कक्षा संचालन  हरेक शनिबार सोही सामुदायिक भवन बारहम पार्क, वेम्ब्लीमा सञ्चालित भइरहेको जानकारी दिइएको छ।

यदि तपाईहरु यस्ता तालिमहरूमा सहभागी हुन चाहनुहुन्छ भने, तमु समाज यूकेमा सम्पर्क गर्न अनुरोध गरिन्छ।

 

शिब कुमार गुरुङ

 

Previous Former Gurkha and MD of Gurkha Media UK, Mr. Milan Gurung, Receives a Historic Honour at the Pride of Rushmoor Community Awards.
Next Health & Safety Training for Senior Citizens Successfully Conducted by Tamu Samaj UK