तमु समाज यूकेद्वारा स्व. धन सिङ गुरुङको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न !


तमु समाज यूकेद्वारा स्व. धन सिङ गुरुङको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न !

तमु समाज यूकेका ज्येष्ठ सदस्य तथा आदरणीय अभिभावक स्व. धन सिङ गुरुङको स्मृतिमा आयोजित “भावपूर्ण श्रद्धाञ्जली सभा” ५ अप्रिल २०२६ आइतबार वेम्बलीस्थित समाजको सामुदायिक भवनमा सम्पन्न भएको छ। ९२ वर्षको उमेरमा गत २२ मार्चमा निधन हुनुभएका गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित उक्त कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो।

हलको क्षमताभन्दा बढी सहभागी उपस्थित भएपछि धेरैले उभिएरै कार्यक्रममा सहभागिता जनाउँदै दिवंगतप्रति श्रद्धा व्यक्त गरेका थिए। कार्यक्रमको सुव्यवस्थित सञ्चालन, समयपालना तथा व्यवस्थापनप्रति सहभागीहरूले उच्च प्रशंसा गरेका थिए। विशेषगरी आमा समूहद्वारा गरिएको आतिथ्य तथा प्रभावकारी व्यवस्थापन कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।

स्व. गुरुङको पार्थिव शरीर उहाँको अन्तिम इच्छा तथा परिवारको चाहनाअनुसार अन्त्येष्टिका लागि नेपाल लैजाने तयारी भइरहेको छ। बेलायतमा रहेका आफन्त, इष्टमित्र तथा शुभचिन्तकहरूले सामूहिक रूपमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाऊन् भन्ने उद्देश्यले उक्त सभा आयोजना गरिएको हो। यस प्रकारको शोकसभा तमु समाज यूकेले आफ्नो आजीवन सदस्यको सम्मानमा पहिलो पटक आफ्नै सामुदायिक भवनमा आयोजना गरेको हो, जसलाई बेलायतस्थित नेपाली समुदायमा एउटा उदाहरणीय कार्यका रूपमा लिइएको छ।

कार्यक्रम बिहान १०:३० बजे सुरु भएको थियो। संस्थाका पूर्व महासचिव तथा सल्लाहकार धरम बल गुरुङले कार्यक्रम सञ्चालन गर्दै उपस्थित सबैलाई स्वागत गर्नुका साथै स्वास्थ्य तथा सुरक्षा (Health & Safety) सम्बन्धी जानकारी गराउनुभयो। लगत्तै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उपस्थित सबैले एक मिनेट मौन धारण गरेका थिए। त्यसपश्चात् सञ्चालक गुरुङले कार्यक्रमको उद्देश्य र रूपरेखा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको मुख्य अंशअन्तर्गत स्व. धन सिङ गुरुङको जीवनवृत्त निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले भावुक शैलीमा वाचन गर्नुभयो। सो अवसरमा उहाँको जीवनका महत्वपूर्ण झलकहरू प्रोजेक्टरमार्फत स्लाइडका रूपमा प्रस्तुत गर्दा उपस्थित सबै भावविह्वल बनेका थिए।

परिवारका तर्फबाट ज्येष्ठ सुपुत्र सुब सिङ गुरुङले तमु समाज यूकेले देखाएको साथ, सहानुभूति र सम्मानप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस दुःखद घडीमा समाज र शुभेच्छुकहरूबाट प्राप्त सहयोगले परिवारलाई ठूलो हौसला मिलेको बताउनुभयो। उहाँले विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ब्रेन्ट बरोका पूर्व मेयर काउन्सिलर भगवान सिंह चोहान लगायत सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, सदस्य तथा विशेषगरी आमा समूहप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। सोही क्रममा अध्यक्ष घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले शोकसन्तप्त परिवारलाई संयुक्त रूपमा समवेदना पत्र हस्तान्तरण गर्नुभयो। उक्त पत्र स्व. गुरुङका सुपुत्रद्वय—तमु समाज युकेका सल्लाहकार एवं ट्रस्टी श्री सुब सिङ गुरुङ र कार्यसमिति सदस्य श्री दिनेश गुरुङले ग्रहण गर्नुभएको थियो।

श्रद्धाञ्जली अर्पणको चरणमा परिवारका सदस्य, तमु समाज यूकेका पदाधिकारी, संस्थापक तथा पूर्व अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि र शुभचिन्तकहरूले पुष्पगुच्छा अर्पण गर्दै दिवंगतप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा “भवतु सब्ब मंगलम्”को कामनासहित दिवंगत आत्माको चिरशान्तिको प्रार्थना गर्दै बिहान ११:४५ बजे सभा विसर्जन गरिएको थियो।

कार्यक्रमपश्चात् जलपानको व्यवस्था तमु समाज यूके आमा समूह तथा परिवारको तर्फबाट गरिएको थियो। उक्त सभामा तमु धीं यूके, तमु प्येल्हु संघ यूके, एनआरएनए यूके, बँगेली समाज यूके, रामबजार समाज यूके, फेदिखोला समाज यूके, तमु धीं लण्डन इकाइ, बोन्टवक समाज यूके, लेम तमु समाज यूके, स्याङ्जा समाज यूके, साबेत मौजा समाज यूके तथा नाता–गोता समाज यूके लगायतका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

प्रेषक: शिव कुमार गुरुङ

निवर्तमान अध्यक्ष, तमु समाज यूके

Previous नवनिर्वाचित प्रतिनिधि सभा सदस्यज्यूहरूमा हार्दिक बधाई तथा शुभकामना!
Next History at 25: Rubi Kumari Thakur Sworn in as Nepal’s Youngest Deputy Speaker, Representing the Spirit of the Gen Z Movement