तिहारको उल्लासमय वातावरणमा तमु समाज यूकेद्वारा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न


लन्डन। नेपाली संस्कृति, परम्परा र भातृत्वको प्रतीक महान् चाड तिहार (दीपावली) को उल्लासमय वातावरणलाई सजीव राख्दै तमु समाज यूकेले यस वर्षको देउसी भैलो कार्यक्रम ऐतिहासिक उत्साह र भव्यताका साथ सम्पन्न गरेको छ।

दीपावली पर्वले धनकी देवी लक्ष्मीको पूजा, दिदीबहिनी र दाजुभाइबीचको प्रेमको प्रतीक भाइटीका, र देउसी भैलोको माध्यमबाट सामाजिक सद्भाव र एकताको सन्देश प्रसारित गर्दछ। यही सांस्कृतिक महिमालाई जीवन्त तुल्याउँदै तमु समाज यूकेले २४ अक्टोबर २०२५ मा लन्डनस्थित बारहाम पार्क, वेम्ब्लीमा रहेको तमु समाज युकेको सामुदायिक भवनमा कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रमको सुरुवात तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु गुरुङ घले, उपाध्यक्ष श्रीमती मिरा गुरुङ र जेष्ठ नागरिक श्रीमती बुद्धी कुमारी गुरुङले संयुक्त रूपमा लक्ष्मी पूजा र दीप प्रज्वलन गरी गर्नुभयो। यसले तिहारको धार्मिक तथा सांस्कृतिक महत्वलाई झनै उजागर गर्‍यो।

महासचिव सुबा घलेले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो। त्यसपछि उपाध्यक्ष केदार बहादुर गुरुङ र आमा समूहका पूर्व अध्यक्ष तथा सल्लाहकार श्रीमती माया गुरुङले देउसी भैलोको सामाजिक र सांस्कृतिक पृष्ठभूमि र यसको महत्वबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा परम्परागत देउसी भैलो गीत र नृत्य प्रस्तुत गर्दै उपाध्यक्ष केदार बहादुर गुरुङ, युवा समूह अध्यक्ष प्रज्ज्वलमान गुरुङ, र आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङले सबैलाई मनोरञ्जन प्रदान गर्नुभयो। यी प्रस्तुतीहरूले नेपाली मौलिक संस्कृति, भेषभूषा र परम्पराको सुन्दर झलक प्रस्तुत गरेका थिए। युवाहरूको उत्साही सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो भने पुराना पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक पहिचानको हस्तान्तरण भएको अनुभूति गरिएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्वअध्यक्षहरू अर्जुन कुमार गुरुङ, शिव चन्द्र गुरुङ, शिव कुमार गुरुङ, उपाध्यक्ष भिम बहादुर गुरुङ, आमा समूहकी उपाध्यक्ष श्रीमती मथुरा गुरुङ, कोषाध्यक्ष श्री चन्द्रकान्त गुरुङ, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ, सल्लाहकार सुश्री बिजु गुरुङ, ज्ञान बहादुर गुरुङ, धरम बल गुरुङ, जेष्ठ नागरिक प्रेम बहादुर गुरुङ, गुमानसिंह गुरुङ लगायत धेरै आजीवन सदस्य र युवा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

यसै अवसरमा, दुई जना नव आजीवन सदस्यहरूश्री तउ बहादुर गुरुङ श्रीमती सिला गुरुङलाई संस्थाका अध्यक्ष श्रीमती बिन्दु गुरुङ घलेले समाजको खदा अर्पण गरी स्वागत तथा सम्मान गर्नुभयो। यो कार्यले संस्थामा नयाँ सदस्यहरूको समावेश र सामुदायिक एकताको सन्देशलाई अझ सुदृढ बनाएको थियो।

कार्यक्रमको सञ्चालन महासचिव सुबा घलेले गर्नुभएको थियो। आमा समूहका सदस्यहरूले नेपाली परिकार, सेलरोटी आदिको स्वादिष्ट व्यवस्था गरे भने कोषाध्यक्ष चन्द्रकान्त गुरुङले पेय पदार्थ व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभयो। यसले नेपाली आतिथ्य संस्कृतिलाई झनै जीवन्त बनाएको थियो।

यस वर्षको देउसी भैलो कार्यक्रम सामुदायिक सहयोगको दृष्टिले पनि उल्लेखनीय रह्यो। कोषाध्यक्ष चन्द्रकान्त गुरुङ र वरिष्ठ उपाध्यक्ष भिम बहादुर गुरुङले चन्दा सङ्कलन व्यवस्थापन गर्नुभएको थियो।
महासचिव सुबा घलेले सदस्यहरू र शुभेच्छुकहरूबाट प्राप्त दान रकमको विवरण प्रस्तुत गर्दै प्रत्यक्ष र अनलाइन माध्यमबाट सोचेअनुसारको दान रकम सफलतापूर्वक सङ्कलन गरिएको जानकारी दिनुभयो। दाताहरूको नाम बाचन गर्दै उहाँले सबैप्रति धन्यवाद र सम्मान प्रकट गर्नुभयो।

कार्यक्रमको समापनमा अध्यक्ष श्रीमती बिन्दु गुरुङ घलेले कार्यक्रम सफल बनाउन योगदान दिने सबै स्वयंसेवक, पदाधिकारी र सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले तिहारको पवित्र अवसरमा प्राप्त सहयोगले सामुदायिक हितका आगामी योजनामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

देउसी भैलो कार्यक्रम साँझ :३० बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिएको थियो। संगीतात्मक प्रस्तुतिमा केदार बहादुर गुरुङ, माया गुरुङ, धरम बल गुरुङ, ज्ञान बहादुर गुरुङ, अर्जुन कुमार गुरुङ, गंग बहादुर गुरुङ, प्रज्ज्वलमान गुरुङ तथा युवा समूहका सदस्यहरूको सहभागिता उल्लेखनीय रह्यो।

समग्रमा, तमु समाज यूकेको यो देउसी भैलो कार्यक्रम तिहारको सांस्कृतिक महिमा, सामुदायिक एकता र सहयोग सङ्कलनका दृष्टिले अत्यन्तै सफल उदाहरणीय सावित भएको छ।

शिव कुमार गुरुङ

Previous Tamu Samaj UK Completes Basic English and Well-Being Classes for Nepali Senior Citizens in London
Next आर्थर डाँडाखर्क गाउँले गुमायो एक अभिभावक, मार्गदर्शक र प्रेरणाको स्रोत