प्रेस विज्ञप्ति विषय: निवर्तमान गृहमन्त्री माननीय सुदन गुरुङको राजीनामा प्रकरणप्रति ध्यानाकर्षण


मिति: २०८३/०१/२२
प्रेस विज्ञप्ति
विषय: निवर्तमान गृहमन्त्री माननीय सुदन गुरुङको राजीनामा प्रकरणप्रति ध्यानाकर्षण
तमु समाज यूके नेपालको निवर्तमान गृहमन्त्री माननीय सुदन गुरुङमाथि हाल उठाइएका आरोपहरू तथा त्यसपछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गर्दछ। लोकतान्त्रिक शासन व्यवस्थामा विधिको शासन, निष्पक्ष छानबिन र कानुनी प्रक्रिया नै सत्य–तथ्य निर्धारण गर्ने आधार हुन्। कुनै पनि व्यक्तिमाथि आरोप लाग्नु मात्र दोष प्रमाणित हुनु होइन भन्ने संवैधानिक सिद्धान्तलाई हामी पुनः स्मरण गराउन चाहन्छौँ।
यस घटनाक्रमले सार्वजनिक पदमा कार्यरत व्यक्तिहरूको कार्य स्वतन्त्रता, संस्थागत स्थिरता र प्रक्रियागत न्यायमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावनाप्रति हामी चिन्तित छौँ। आरोपहरूको पूर्ण, निष्पक्ष र पारदर्शी छानबिन बिना कुनै व्यक्तिलाई दोषीका रूपमा प्रस्तुत गर्ने वा त्यसैका आधारमा निर्णयहरू गर्नुपर्ने वातावरण सिर्जना हुनु लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल खाँदैन।
यस सन्दर्भमा, तमु समाज यूके सम्बन्धित राज्य निकायहरूलाई निम्न आग्रह गर्दछः
• उठाइएका सबै आरोपहरूको निष्पक्ष, तथ्यपरक र गहन छानबिन सुनिश्चित गरियोस्।
• छानबिन पूरा नभएसम्म दोषी ठहरिएको जस्तो व्यवहार नगर्ने संवैधानिक मान्यतालाई कडाइका साथ पालना गरियोस्।
• निर्णय प्रक्रियामा पूर्वाग्रह, राजनीतिक दबाब वा समूहगत प्रभाव नपरोस् भन्ने सुनिश्चितता गरियोस्।
यदि छानबिनका प्रारम्भिक वा अन्तिम निष्कर्षहरूले उहाँमाथि लगाइएका आरोपहरू पुष्टि नगर्ने देखिएमा, प्रक्रियागत न्यायको सम्मानस्वरूप उहाँलाई पूर्वस्थितिमा पुनर्बहाली गर्ने विषयमा राज्यले आवश्यक ध्यान दिनु उपयुक्त हुने हाम्रो धारणा छ। यसलाई कुनै व्यक्तिको समर्थन वा विरोधका रूपमा नभई संवैधानिक प्रक्रिया र न्यायिक निष्पक्षताको पक्षमा गरिएको संस्थागत अभिव्यक्ति रूपमा बुझिनुहोला।
साथै, हामी राजनीतिक दलहरू, सञ्चारमाध्यम र नागरिक समाजलाई तथ्यमा आधारित, संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछौँ, ताकि यस्ता संवेदनशील विषयहरूमा सार्वजनिक विश्वास र लोकतान्त्रिक मूल्यहरू सुदृढ रहून्।
तमु समाज यूके सुशासन, पारदर्शिता, विधिको शासन र न्यायका मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता विषयमा स्पष्ट, सन्तुलित र जिम्मेवार धारणा राखिरहनेछ।
धन्यवाद।
सुव घले
महासचिव, तमु समाज यूके
बिन्दु कुमारी गुरुङ घले
अध्यक्ष, तमु समाज यूके

Previous तमु समाज यूकेले स्वस्ती शान्ति पूजासहित लन्डनमा मनायो २५७०औं बुद्ध जयन्ती
Next तमु समाज यूकेद्वारा वेल्सको पवित्र धाम 'स्कन्द भ्येल' मा सामूहिक आध्यात्मिक यात्रा सम्पन्न