बाढीपीडितहरुको सहयोगका लागि हार्दिक अपिल !


बाढीपीडितहरूको सहयोगका लागि हार्दिक अपिल!

२०८३ साल भदौ १० गते बुधबार (२६ अगस्ट २०२६) नेपाल–चीन (तिब्बत) सीमावर्ती क्षेत्रबाट उत्पन्न भई रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नेपालका विभिन्न स्थानमा प्रभाव पारेको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएको दुःखद खबरले तमु समाज यूके परिवारलाई अत्यन्त मर्माहत बनाएको छ।

यस प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति तमु समाज यूके भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

यस कठिन परिस्थितिमा उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका लागि नेपाल सरकार र सम्बन्धित निकायहरूले गरिरहेका प्रयासमा सहयोग पुर्‍याउनु हामी सबैको मानवीय दायित्व हो। तसर्थ, बेलायतलगायत विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, विभिन्न संघ–संस्था, व्यवसायी, शुभेच्छुक तथा सहयोगी मनहरूलाई आफ्नो क्षमता र सुविधाअनुसार नेपाल सरकार तथा सम्बन्धित आधिकारिक निकायमार्फत आर्थिक, भौतिक एवं नैतिक सहयोग प्रदान गरिदिनुहुन तमु समाज यूके हार्दिक अपिल गर्दछ।

सहयोग प्रदान गर्दा आधिकारिक तथा विश्वसनीय माध्यमको मात्र प्रयोग गरी वास्तविक पीडितहरूसम्म राहत पुग्ने वातावरण निर्माण गर्नसमेत हामी सबैमा विनम्र अनुरोध गर्दछौँ।

विपद्को यस घडीमा आपसी एकता, सहकार्य र मानवीय सद्भावका साथ बाढीपीडितहरूको दुःखमा साथ दिऔँ। हाम्रो सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठूलो आशा र भरोसा जगाउन सक्छ।

पीडितको पीडामा साथ दिऔँ—मानवता, एकता र सहयोगको हात बढाऔँ।

बिन्दु कुमारी गुरुङ घले
अध्यक्ष तथा तमु समाज यूके परिवार
लन्डन, बेलायत

Previous गुरुङ चलचित्र ‘मार्कली’पहिलोपटक लन्डनमा विशेष प्रदर्शन हुँदैछ।
Next १७ औं नेपाली मेलामा तमु समाज युकेको उत्साहपूर्ण सहभागिता मौलिक झाँकीमा झल्कियो तमु पहिचान