बेलायत सरकारले २२ अक्टोबर २०२६ देखि तीन वर्षे ‘Be Ready’ (तयार रहनुहोस्) अभियान सुरु गरेको छ। यसको उद्देश्य प्रतिकूल मौसम, साइबर घटना वा अन्य कारणले बिजुली, पानी र सञ्चार सेवा अवरुद्ध हुँदा आफ्नो र परिवारको सुरक्षाका लागि पूर्वतयारी गर्न नागरिकहरूलाई सघाउनु हो।
यस अभियानको मुख्य सन्देश कम्तीमा ७२ घण्टा (तीन दिन) सम्म आफ्नो परिवारको आधारभूत आवश्यकता धान्न सक्ने तयारी गरौँ भन्ने हो। यस्तो पूर्वतयारीले आपत्कालीन सेवाहरूलाई सबैभन्दा बढी सहयोग चाहिने व्यक्तिसम्म पहिले पुग्न मद्दत गर्छ।
घरमा के–के तयार राख्ने ?
- पानी: पिउनका लागि प्रतिव्यक्ति दैनिक ३ लिटरका दरले तीन दिनको पानी राखौँ। चार जनाको परिवारलाई ३६ लिटर चाहिन्छ। खाना पकाउन र सरसफाइका लागि थप पानी आवश्यक हुन्छ।
- खाना: फ्रिजमा राख्न वा पकाउन नपर्ने, लामो समय टिक्ने र आफूले खान मिल्ने तीन दिनको खाना तथा हातले चलाउने टिन खोल्ने साधन राखौँ।
- उज्यालो र सञ्चार: टोर्च, थप ब्याट्री, चार्ज गरिएको पावर बैंक र ब्याट्री वा हातले घुमाएर चल्ने एफएम रेडियो तयार राखौँ।
- औषधि र अन्य सामग्री: नियमित औषधि सकिनुअघि मगाऔँ। प्राथमिक उपचारका सामग्री, न्यानो कपडा, कम्बल,(Sleeping bag) सरसफाइका सामान र केही नगद राखौँ। आवश्यक कागजातका प्रतिलिपि र सम्पर्क नम्बर कागजमा लेखेर सुरक्षित राखौँ।
आफ्नो परिवारअनुसार तयारी गरौँ
खानपान, स्वास्थ्य र परिवारको आवश्यकताअनुसार थप सामग्री राखौँ। बालबालिका र घरपालुवा जनावरका आवश्यक सामान पनि सम्झौँ। सबै सामग्री एकैपटक किन्नुपर्दैन; आफ्नो क्षमताअनुसार बिस्तारै जुटाऔँ।
तीन वर्षे अभियान भनेको एउटै सामान तीन वर्ष थन्क्याउने होइन। हरेक छ महिनामा अथवा म्याद र अवस्था जाँचौँ तथा आवश्यक सामान फेरौँ।
ज्येष्ठ नागरिक तथा विशेष सहयोग चाहिने व्यक्तिहरूलाई बिजुली, ग्यास र पानीको सेवा बन्द हुँदा थप सहयोग पाउन सम्बन्धित कम्पनीको निःशुल्क सहायता सूची (Priority Services Register) मा नाम दर्ता गर्न सघाऔँ।
आधिकारिक जानकारी: बेलायत सरकारको Be Ready वेबसाइट
पूर्वतयारी गरौँ, एकअर्काको ख्याल राखौँ।
धन्यवाद।
शिबकुमार गुरुङ
निवर्तमान अध्यक्ष, तमु समाज युके