लन्डनमा तमु समाज यूकेद्वारा त ल्होछार कार्यक्रम भव्यतापूर्वक सम्पन्न


लन्डन।
तमु समाज यूकेले गुरुङ समुदायको महान पर्व ल्होछार/ल्होसार (नयाँ वर्ष) यस वर्ष पनि भव्य, सभ्य तथा ऐतिहासिक रूपमा मनाएको छ। संस्थाले ३ जनवरी २०२६ का दिन लन्डनको ह्यारोस्थित Harrow Leisure Centre मा विशेष कार्यक्रमको आयोजना गरी सप्री ल्हो (सर्प वर्ग) को बिदाइ तथा त ल्हो (घोडा वर्ग) को स्वागतस्वरूप ल्होछार उत्सव मनाएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा ब्रेन्ट काउन्सिलका मेयर काउन्सिलर रायन ह्यक, तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले तथा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

उत्सवमा तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन (रि.) डेमबहादुर गुरुङ, मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन, लन्डन बरो अफ होनस्लोका पूर्व मेयर काउन्सिलर विष्णुबहादुर गुरुङ, रोयल बरो अफ ग्रीनवीचका पूर्व मेयर काउन्सिलर जित रानाभाट, लन्डन बरो अफ ब्रेन्टका पूर्व मेयर तथा काउन्सिलर वरलेन ह्यालटेन, लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङ, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, तमु धीं युकेका पूर्व अध्यक्ष हितकाजी गुरुङ, पत्रकार महासंघ युकेकी अध्यक्ष बिमला सेने, गैरआवासीय नेपाली संघ युकेका महासचिव जुरेन्द्र खाजुम लिम्बु लगायत बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी तमु समाज यूकेका पूर्व अध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, सल्लाहकारहरू, आमा समूहकी अध्यक्ष बिमला गुरुङ तथा पूर्व अध्यक्ष माया गुरुङ, युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङ, निवर्तमान अध्यक्ष ओमकार गुरुङ, साथै गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन गुरुङ र नेपाली लिंकका पत्रकार नवीन पोखरेल गायत सञ्चारकर्मीहरूको पनि सक्रिय सहभागिता थियो।

कार्यक्रम तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष केदारबहादुर गुरुङ संयोजक तथा सल्लाहकार धरमबल गुरुङको सक्रिय भूमिकामा कार्यक्रम सभ्य र व्यवस्थित रूपमा सम्पन्न भयो।

कार्यक्रम सञ्चालन महासचिव सुब घले, कार्यक्रम उद्घोषन निरज गुरुङ र सन्तोषी गुरुङले गरेका थिए। उपाध्यक्ष केदारबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव सुब घलेले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराएका थिए।

कार्यक्रमका क्रममा तमु समाज यूकेको तर्फबाट निर्माण गरिएको गीत तथा म्युजिक भिडियोले २०८२ साल पुस १० गते काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा सर्वोत्कृष्ट गीतसहित पाँच प्रमुख विधामा ऐतिहासिक सफलता हासिल गरेको अवसरमा कलाकार तथा सर्जकहरूलाई सम्मान गरिएको थियो

सम्मानित हुनेहरूमा गीतकार सूर्य गुरुङ, गायक आर.के. गुरुङ, गायिका अनिता गुरुङ तथा निर्देशक सरु गुरुङ राना थिए। साथै गीतको परिकल्पनाकार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र भिडियो निर्माणमा कुशल नेतृत्व प्रदान गर्ने निवर्तमान अध्यक्ष शिवकुमार गुरुङलाई विशेष कदरपत्र प्रदान गरिएको थियो।

सम्मान कार्यक्रम समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, प्रमुख अतिथि मेयर रायन ह्यक तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङद्वारा खादा, फेटा र सम्मानपत्र प्रदान गरी सम्पन्न गरिएको थियो।

समाजको गीतले ऐतिहासिक सफलता हासिल गरेको उपलक्ष्यमा तमु समाज यूकेको तर्फबाट अध्यक्षलाई बधाई तथा प्रशंसापत्र, नेपालबाट प्राप्त सम्मानपत्र र ट्रफी प्रदान गरिएको थियो।

यसै अवसरमा तमु समाज यूकेको दीर्घकालीन सेवा र योगदानको कदर गर्दै पूर्व कोषाध्यक्ष याम बहादुर गुरुङ र निवर्तमान कोषाध्यक्ष खेम बहादुर गुरुङलाई तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०२६) प्रदान गरिएको थियो।

सम्मानित व्यक्तिहरूसँगै उहाँहरूका धर्मपत्नीहरूलाई पनि दोसल्ला र पुष्पगुच्छा सहित सम्मान गरिएको थियो।

कार्यक्रममा नेपालबाट आमन्त्रित तमु छोज धीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष तथा विदेश विभाग प्रमुख मनोज गुरुङलाई तमु समाज यूकेद्वारा स्वागत तथा सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो। सो अवसरमा प्रत्युत्तरस्वरूप उनले तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्को तर्फबाट समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेलाई मायाको चिनो प्रदान गर्नुभयो।

मन्तव्यका क्रममा उहाँले तमु समाज यूकेले बेलायत तथा नेपालमा निरन्तर रूपमा गर्दै आएको सामाजिक, शैक्षिक तथा सांस्कृतिक योगदानको उच्च प्रशंसा गर्नुभयो। साथै, विदेशमा रहेर पनि तमु समुदायको संस्कार र संस्कृतिलाई जीवन्त राखी भावी पुस्तामा हस्तान्तरण गर्न समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनहरूमा नेपालबाट संस्थाबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यसैगरी तमु समाज यूकेका सल्लाहकार बाबु राम गुरुङ तथा राजकुमारी गुरुङका सुपुत्र–बुहारी, साथै सल्लाहकार खेमबहादुर गुरुङ र भद्र गुरुङकी सुपुत्री–ज्वाइँ, बेलायती सेनामा क्याप्टेन पदमा पदोन्नति हुनुभएका दीप नर्सिङ गुरुङ र उहाँकी धर्मपत्नी रोजिना गुरुङलाई तमु समाज यूकेको तर्फबाट फेटा, खादा, दोसल्ला तथा पुष्पगुच्छा प्रदान गर्दै औपचारिक रूपमा बधाई तथा सम्मान व्यक्त गरिएको थियो।

उक्त कार्यक्रममा क्याप्टेन दीप नर्सिङ गुरुङका अभिभावकहरू तथा उहाँकी धर्मपत्नीका अभिभावकहरूलाई समेत फेटा, खादा र दोसल्ला ओढाई पुष्पगुच्छा प्रदान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

उक्त अवसरमा क्याप्टेन दीप नर्सिङ गुरुङ दम्पतीले आफ्ना अभिभावक आबद्ध संस्था तमु समाज यूकेलाई पाँच सय पाँच (£505) पाउण्ड आर्थिक सहयोग प्रदान गर्नुभएको थियो।

सांस्कृतिक सत्रमा नेपालबाट आमन्त्रित कलाकार चिज गुरुङ र निर्जला गुरुङलाई अध्यक्ष, संस्थापक अध्यक्ष तथा आमा समूहकी अध्यक्षद्वारा स्वागत तथा सम्मान गरिएको थियो। अतिथि कलाकारहरूको विशेष सांगीतिक तथा नृत्य प्रस्तुतिले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्‍यो। तमु समाज यूके युवा समूहकी सचिव सुमी गुरुङको कोरियोग्राफीमा तयार पारिएका नृत्य अतिथि कलाकारहरु श्री गुरुङ, सन्दीपा गुरुङ, जेनि गुरुङ र सिम्रिक गुरुङको प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रमको अन्त्यमा डिजे प्रज्वलमान गुरुङ र विशाल मोक्तानको धमाकेदार प्रस्तुतिले माहोललाई उत्साहपूर्ण बनाएको थियो।

यस वर्ष पहिलोपटक गुरुङ भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘बेस्ट गुरुङ पहिरन प्रतियोगिता आयोजना गरिएको थियो। निर्णायकको निर्णयअनुसार महिला तर्फ निर्मला गुरुङ र पुरुष तर्फ रूपक कुमार गुरुङ उत्कृष्ट घोषित भई कप, नगद पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए। साथै राफल ड्र मार्फत तीन जनाले आकर्षक पुरस्कार जितेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लन्डन बरोअफ ब्रेन्टका मेयर काउन्सिलर रायन ह्यकले भन्नुभयो, “तपाईंहरूको समुदायले यस देशको विकास र सुरक्षामा पुर्‍याउनुभएको योगदान अतुलनीय छ। ऐतिहासिक गोरखा रेजिमेन्टमार्फत वीरताको गाथा कोर्नेदेखि लिएर, राष्ट्रिय स्वास्थ्य सेवा (NHS) र अन्य सार्वजनिक सेवाहरूमा तपाईंहरूले दिनुभएको सेवाप्रति हामी सधैं ऋणी छौँ।” उनले आजको स्वतन्त्रताका लागि लड्ने वीर योद्धाहरूको स्मरण गर्दै उनीहरूप्रति उच्च सम्मान समेत व्यक्त गरे।

आफ्नो हालैको लन्डन भ्रमणको स्मरण गर्दै मेयर ह्यकले ‘लेडी मेयर शो’ मा तमु समाज यूकेको झण्डा सानका साथ फहरिएको देख्दा आफूलाई अत्यन्त गर्व महसुस भएको बताउनुभयो। “त्यो दृश्य तपाईंहरूको पहिचान र यो देशमा तपाईंहरूको बलियो उपस्थितिको एउटा शक्तिशाली प्रतीक थियो,” उनले भने।

मेयर ह्यकले तमु समुदायलाई आफ्नो पुर्ख्यौली विरासत र परम्परामा गर्व गर्न आग्रह गर्दै ल्होसार केवल एउटा चाड मात्र नभई जीवन्त संस्कृति र समुदायले समाजमा भर्नुभएको रौनकताको उत्सव भएको टिप्पणी गर्नुभयो।

मन्तव्यको अन्त्यमा उनले तमु समुदायका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष र ल्होसारको सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले ल्होछारको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, आमा समूह, युवा समूह, पत्रकार मित्रहरू, प्रायोजकहरू तथा स्वयंसेवकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

साथै ल्होछार कार्यक्रमका प्रायोजकहरू तथा तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा फिल्म अवार्ड २०८२ जित्न सफल कलाकारहरूलाई विशेष बधाई ज्ञापन गर्दै सर्जक, गायक–गायिकाहरू, भिडियो निर्देशक, गीत परिकल्पनाकार, म्युजिक भिडियो प्रोडक्सन म्यानेजर तथा कार्यक्रममा सहभागी सम्पूर्ण कलाकारहरूप्रति योगदानको कदर गर्दै धन्यवादसहित गहिरो आभार व्यक्त गर्नुभयो।

यसै क्रममा राफल ड्रको पुरस्कार उपलब्ध गराउने महानुभावहरू—श्री कृष्ण ज्वेलर्सका प्रोप्राइटर प्रकाश गौतम तथा दुर्गा गौतम, लन्डन ज्वेलर्स पिन (फुली) का प्रोप्राइटर गंगाराम भुसाल, बुद्ध मोर्टगेजका प्रोप्राइटर शिशिर राना तथा मुख्य प्रायोजक GT Bass Entertainment का सञ्चालकहरू प्रज्वलमान गुरुङ, विशाल मोक्तान, रोज लामा र क्याप्टेन दिप नर्सिङ गुरुङ दम्पतीप्रति विशेष आभार व्यक्त गर्नुभयो।

कार्यक्रम साँझ ४:३० बजे सुरु भई राति ११:४५ बजेसम्म चलेको थियो। खानपान व्यवस्थापन दरबार रेस्टुरेन्टका प्रोप्राइटर धनबहादुर गुरुङले गरेका थिए भने फोटोग्राफी ओमकार गुरुङ र भिडियोग्राफी बिशन गुरुङले गरेका थिए।

शिब कुमार गुरुङ – लन्डन

Previous तमु समाज युकेले ल्होछार अवसरमा ग्रह शान्ति पूजा सम्पन्न गर्‍यो
Next तमु समाज युकेद्वारा ल्होछार / ल्होसारको अवसरमा दुई वरिष्ठ समाजसेवी सम्मानित