विश्वले एक महान् पर्वतारोही गुमायो
विश्वचर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लगायत ब्रोड पिक दुर्घटनामा दिवंगत सम्पूर्ण पर्वतारोहीहरूप्रति तमु समाज युकेको भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समवेदना ब्यक्त गर्दछौं।
तमु समाज युके (Tamu Samaj UK) लाई पाकिस्तानस्थित ब्रोड पिक (Broad Peak) हिमालमा गत ३० जुलाई २०२६ (बिहीबार) आएको भीषण हिमपहिरो (Avalanche) मा परी विश्वचर्चित नेपाली पर्वतारोही, पूर्व ब्रिटिश गोर्खा सैनिक तथा साहसिक अभियानका प्रेरणास्रोत निर्मल पुर्जा (निम्स दाइ) लगायत उहाँसँग अभियानमा सहभागी अन्य पर्वतारोहीहरूको दुःखद निधन भएको समाचारले अत्यन्त मर्माहत, स्तब्ध र शोकाकुल बनाएको छ। घटनापछि गरिएको खोज तथा उद्धार प्रयासका क्रममा उहाँहरूको निधनको आधिकारिक पुष्टि भएपछि सम्पूर्ण नेपाली समुदाय शोकमा डुबेको छ।
निर्मल पुर्जा केवल एक सफल पर्वतारोही मात्र नभई नेपाली साहस, आत्मविश्वास, नेतृत्व क्षमता र अदम्य इच्छाशक्तिका विश्वव्यापी प्रतीक हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनभर नेपालको गौरवलाई अन्तर्राष्ट्रिय मञ्चमा उच्च स्थानमा पुर्याउन अतुलनीय योगदान दिनुभयो।
उहाँका उल्लेखनीय योगदानहरू
- विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा पूर्व ब्रिटिश गोर्खा एवं स्पेशल बोट सर्भिस (SBS) का भूतपूर्व सैनिक।
- सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरू केवल ६ महिना ६ दिनमा सफलतापूर्वक आरोहण गरी विश्व इतिहासमा नयाँ कीर्तिमान कायम गर्नुभयो।
- उहाँको प्रेरणादायी यात्रालाई विश्वव्यापी रूपमा चर्चित Netflix डकुमेन्ट्री “14 Peaks: Nothing Is Impossible” मार्फत संसारभर परिचित गराइएको थियो।
- विश्वकै दोस्रो अग्लो हिमाल केटु (K2) को इतिहासमै पहिलो सफल शीतकालीन (Winter) आरोहण गर्ने अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गर्नुभयो।
- पर्वतारोहण, नेतृत्व तथा मानव साहसको क्षेत्रमा पुर्याउनुभएको असाधारण योगदानको सम्मानस्वरूप बेलायत सरकारले उहाँलाई प्रतिष्ठित MBE (Member of the Order of the British Empire) सम्मानबाट विभूषित गरेको थियो।
उहाँको अदम्य साहस, दृढ संकल्प, नेतृत्व क्षमता र असम्भवलाई सम्भव बनाउने प्रेरणाले विश्वभरका लाखौं युवाहरूलाई ठूलो उत्साह र प्रेरणा प्रदान गरेको छ। उहाँको असामयिक निधनले नेपाल र बेलायत मात्र होइन, सम्पूर्ण विश्व पर्वतारोहण समुदायले एक असाधारण व्यक्तित्व गुमाएको छ।
उहाँको निधनप्रति नेपाल तथा बेलायतसहित विश्वका विभिन्न देशका सरकारप्रमुख, पर्वतारोहण संस्था, अन्तर्राष्ट्रिय संघ–संस्थाहरू, विश्वप्रसिद्ध पर्वतारोहीहरू तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। यसले उहाँले विश्व पर्वतारोहण क्षेत्रमा स्थापित गर्नुभएको अतुलनीय योगदान र सम्मानलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ।
श्रद्धाञ्जली तथा समवेदना
यस दुःखद घडीमा तमु समाज युके (Tamu Samaj UK) का अध्यक्ष, सम्पूर्ण कार्यसमिति, सल्लाहकार, सदस्य परिवार तथा बेलायतस्थित नेपाली समुदायको तर्फबाट स्वर्गीय निर्मल पुर्जा (निम्स दाइ) तथा उहाँसँगै जीवन गुमाउनु भएका सम्पूर्ण पर्वतारोहीहरूको पवित्र आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
साथै, शोकसन्तप्त परिवारजन, आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूमा यस अपूरणीय क्षति सहन सक्ने धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं।
नेपालले आफ्नो गौरवशाली पुत्र गुमाएको छ, तर उहाँले साहस, समर्पण र असम्भवलाई सम्भव बनाउने प्रेरणाको अमिट इतिहास सधैंका लागि छोडेर जानुभएको छ। उहाँप्रति सम्पूर्ण नेपाली समुदाय सदैव ऋणी रहनेछ।
–शिब कुमार गुरुङ
तमु समाज युके







