श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको वार्षिक भेला भव्यताका साथ सम्पन्न, नयाँ कार्यसमितिको चयन
अल्डरसट– जुलाई ५, २०२५ शनिबारको दिन बेलायतमा रहेका श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) गाउँका प्रवासी नेपालीहरूको साझा संस्था श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको वार्षिक भेला अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरको सभाहलमा एक भव्य समारोहका साथ सम्पन्न भएको छ। यस भेलाले नयाँ कार्यसमिति चयन गर्दै समाजको भावी कार्यदिशा समेत निर्धारण गरेको छ।
समाजका अध्यक्ष श्री जङ्ग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तमु धीं युकेका अध्यक्ष श्री जुमकाजी गुरुङ, नेपालबाट पाल्नुभएका धर्मगुरु बज्र आचार्य दोर्जे लोपेन जन्त गुरुङ लामा सहित समाजका जेष्ठ सदस्यहरू – श्रीमती राजकुमारी गुरुङ, श्रीमती अकला देवी गुरुङ, श्री पूर्णबहादुर गुरुङ तथा संस्थापक अध्यक्ष श्री कृष्णप्रसाद गुरुङको संयुक्त उपस्थितिमा दीप प्रज्वलन गरी गरिएको थियो।
कार्यक्रमको सञ्चालन समाजका महासचिव प्रशन्न गुरुङले गर्नुभएको थियो। यस अवसरमा स्वास्थ्य तथा सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरिनुका साथै नेपाल र बेलायतमा गत वर्षदेखि यस वर्षसम्म दिवंगत हुनुभएका सदस्यहरूको स्मृतिमा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। समाजका उपाध्यक्ष गोपाल गुरुङले स्वागत मन्तव्य राख्दै वार्षिक भेलाको औचित्य, उद्देश्य र समाजका गतिविधिबारे प्रकाश पार्दै उपस्थित सबैप्रति हार्दिक स्वागत सहित आभार व्यक्त गर्नुभयो।
सम्मान र विशेष आकर्षणहरू
भेलाको अवसरमा समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याउने तथा उत्कृष्ट प्रदर्शन गर्ने सदस्यहरूलाई सम्मान गरेको थियो। नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्नुका साथै ६६ वर्ष र ८४ वर्ष पुगेका जेष्ठ नागरिकहरूको सम्मान गरियो। यसैगरी, उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, सैनिक सेवामा पदोन्नति प्राप्त सदस्यहरू र नवविवाहित दम्पतीहरूलाई पनि सम्मान गरिएको थियो। समाजका अध्यक्ष जङ्ग बहादुर गुरुङले खादा, पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै उक्त सम्मान कार्यक्रम सम्पन्न गर्नुभयो।
८४ औं जन्म दिनको पावन अवसरमा श्री पुर्ण बहादुर गुरुङ र श्रीमती दिल कुमारी गुरुङ लाई हार्दिक बधाई तथा शुभकामना
नेपालबाट पाल्नुभएका साङ ङाग दोर्जे छ्योईलिङ गुम्बाका मूलगुरु बज्र आचार्य लोपेन जन्त गुरुङलाई विशेष स्वागत तथा सम्मान गरियो। धर्मगुरुले “बेलायतमा भए पनि आफन्तहरूसँग बसेर गाउँकै अनुभूति भयो” भन्दै समाजप्रति कृतज्ञता प्रकट गर्नुभयो। साथै, उहाँले आफ्नी दिवंगत आमा मनसुवा गरुङको स्मृतिमा समाजलाई £५०५( पाँचसय पाँच) पाउन्ड आर्थिक सहयोगसमेत प्रदान गर्नुभयो।
धर्मगुरु बज्र आचार्य दोर्जे लोपेन जन्त गुरुङ द्वारा स्व आमा मनसुवा गुरुङको स्मृतिमा समाजलाई दान प्रदान
प्रमुख अतिथि तथा तमु धीं युकेका अध्यक्ष श्री जुमकाजी गुरुङ र उहाँकी धर्मपत्नी तथा तमु धीं युके आमा समूहकी अध्यक्ष श्रीमती कमला गुरुङलाई पनि खादा, फेटा, दोसल्ला र पुष्पगुच्छासहित स्वागत तथा सम्मान गरिएको थियो। गुरुङले आफ्नो हालैको नेपाल भ्रमणको अनुभव सुनाउँदै आर्थर डाँडाखर्क गाउँको ऐतिहासिक गुम्बा अवलोकन, स्थानीयको सद्भावपूर्ण स्वागत, र समाजको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले श्री पञ्चकोशी समाज पोखराका अध्यक्ष कमल गुरुङ र समाजकी चेली श्रीमती मञ्जु गुरुङ राईलाई नेपाल भ्रमणका क्रममा उत्कृष्ट व्यवस्थापनका लागि धन्यवाद दिनुभयो। साथै, उहाँले २०२५ मा तमु धीं युकेद्वारा आयोजना गरिने नेपाली मेलामा समाजका सम्पूर्ण सदस्यहरूलाई सहभागिता जनाउन समेत आह्वान गर्नुभयो।
तमु धीं युकेका अध्यक्ष श्री जुम काजि गरुङ र उहाँकी धर्म पत्नी तथा तमु धी युके आमा समूहकी अध्यक्ष श्रीमती कमला गुरुङ लाई स्वागत तथा सम्मान
प्रमुख अतिथि तथा तमु धीं युकेका अध्यक्ष श्री जुम काजी गुरुङ
कार्यसमितिको हस्तान्तरण र नयाँ नेतृत्व चयन
तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि छैटौं कार्यसमितिले सातौं कार्यसमितिलाई पद हस्तान्तरण गर्यो। नव-निर्वाचित सातौं कार्यसमिति निम्नानुसार रहेको छ:
- अध्यक्ष: धिरज गुरुङ
- उपाध्यक्ष: कमल गुरुङ
- सचिव: प्रशन्न गुरुङ (पुनः निर्वाचित)
- कोषाध्यक्ष: कमल गुरुङ
- खाद्य संयोजक: बुद्धि गुरुङ(पुन: निर्वाचित)
- सांस्कृतिक सचिव: श्रीमती पूजा गुरुङ (पुनः निर्वाचित)
- सम्पत्ति सचिव: गौतम गुरुङ
नव निर्वाचित अध्यक्ष धिरज गुरुङले समाजको गौरवशाली परम्परालाई निरन्तरता दिँदै नयाँ उचाइमा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निवर्तमान पदाधिकारीहरूलाई खादा, पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै बिदाई गर्नुभयो।
नव निर्वाचित अध्यक्ष धिरज गुरुङ र उहाँका कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना
नव निर्वाचित उपाध्यक्ष कमल गुरुङ र सचिब प्रशन्न गुरुङ लाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना
निवर्तमान अध्यक्षको मन्तव्य: कार्यकालका प्रमुख उपलब्धिहरू
समाजले १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरिरहेको सन्दर्भमा, निवर्तमान अध्यक्ष जङ्ग बहादुर गुरुङले छैटौँ कार्यसमितिको तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी सातौँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी गराउनुभयो। उहाँले सातौँ कार्यसमितिका नवनिर्वाचित अध्यक्ष श्री धिरज गुरुङ र उहाँको कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले समाजलाई अझ मजबुत, संगठित र समुन्नत बनाउने विश्वास व्यक्त गर्नुभयो।
गत तीन वर्षको कार्यकालमा प्राप्त निरन्तर समर्थन र विश्वासप्रति गहिरो आभार व्यक्त गर्दै अध्यक्ष जङ्ग बहादुर गुरुङले आफ्नो कार्यकालका मुख्य उपलब्धिहरू यसप्रकार प्रस्तुत गर्नुभयो:
- आर्थर डाँडाखर्क गाउँको ऐतिहासिक गुम्बा पुनर्निर्माणमा ५ लाख रुपैयाँभन्दा बढी सहयोग
- पोखरामा स्वास्थ्य उपचार गराइरहेका गाउँका पीडित सदस्यहरूलाई आर्थिक सहयोग
- बेलायतस्थित सदस्यहरूको सुख-दुःखमा निरन्तर सहकार्य
- बेलायतस्थित संघ–संस्थाहरूसँगको मैत्रीपूर्ण समन्वय”
उहाँले सम्पूर्ण सहभागीहरूलाई भेटघाट, आत्मीयता, सहकार्य र स्मृतिहरू बाँड्ने यो अवसरलाई सफलतापूर्वक उपयोग गरेकोमा धन्यवाद दिनुभयो। साथै, प्रमुख अतिथि तथा विशेष अतिथिहरूलाई कार्यक्रमको शोभा बढाइदिएकोमा कृतज्ञता प्रकट गर्नुभयो।
तिन बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा निवर्तमान अध्यक्ष जंग बहादुर गुरुङ र उहाँका सम्पूर्ण पदाधिकारि हरुलाई हार्दिक बधाई तथा शुभकामना
मनोरञ्जन र सांस्कृतिक कार्यक्रम
भेलामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिए। स्थानीय कलाकारहरू मिरा गुरुङ, युवारानी गुरुङ, साया गुरुङ, सायारा गुरुङ, पूजा गुरुङ र सम्झना गुरुङले आ-आफ्ना प्रस्तुति दिए। नेपालबाट आएका राष्ट्रिय कलाकार बलचन्द्र बराल र अनुपा मगरको विशेष प्रस्तुतिले कार्यक्रममा थप रौनक थप्यो। डिजे टंक सेरचनको संगीतमा सहभागीहरूले नाचगानमा भरपुर सहभागिता जनाए। कार्यक्रमको अन्त्यमा सांस्कृतिक सचिव पूजा गुरुङ र कोषाध्यक्ष सालिकराम गुरुङको संयोजनमा १० वटा नगद तथा आकर्षक पुरस्कारसहितको राफल ड्र पनि आयोजना गरिएको थियो।
सहयोग र आभार
अध्यक्ष गुरुङले वार्षिक भेला कार्यक्रम सफल बनाउनमा योगदान दिने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। आर्थिक सहयोगदाताहरू: धर्मगुरु लोपेन जन्त गुरुङ, श्री समिर गुरुङ, श्रीमती ममता गुरुङ, श्री धन प्रसाद गुरुङ, श्रीमती अकला देवी गुरुङ, श्रीमती राम माया गुरुङ, श्री खेम कुमार गुरुङ, श्री बम बहादुर गुरुङ, श्रीमती जगत कुमारी गुरुङ, श्रीमती हरिमाया गुरुङ, श्री कनिन गुरुङ, श्रीमती सुर्य देवी गुरुङ, ले. रि. थमन गुरुङ, श्री पूर्ण बहादुर गुरुङ, श्रीमती दिल कुमारी गुरुङ, सुश्री दुची गुरुङ, श्री विनोद गुरुङ, कृष्ण कुमारी गुरुङ, श्री राम चन्द्र गुरुङ र श्रीमती चन्द्र देवी गुरुङलाई हार्दिक धन्यवाद व्यक्त गरिएको थियो।
कार्यक्रम संयोजनमा सहयोग पुर्याउनुहुने उपाध्यक्ष गोपाल गुरुङ, महासचिव प्रशन्न गुरुङ, खाद्य संयोजक बुद्धि गुरुङ, प्रोपर्टी सचिव राजेश गुरुङ, सांस्कृतिक संयोजक पूजा गुरुङ, मनोरञ्जन संयोजक भागीराम गुरुङ, सल्लाहकारहरू राजबहादुर गुरुङ र शिब कुमार गुरुङलाई विशेष धन्यवाद व्यक्त गरिएको थियो। यसैगरी, फोटोग्राफर गौतम गुरुङ, खाना व्यवस्थापनमा गोर्खा किचेन, र डिजे टंक सेरचनलाई पनि धन्यवाद व्यक्त गरियो।
कार्यक्रममा गोर्खा किचेन केटरिङ सर्भिसमार्फत स्वादिष्ट भोजनको व्यवस्थापन खाद्य संयोजक बुद्धि गुरुङको संयोजनमा गरिएको थियो भने पेयपदार्थको प्रायोजन अध्यक्ष जङ्ग बहादुर गुरुङद्वारा गरिएको थियो।
शैनिक सेवामा पदोन्नती हुनु भएका सार्जन दुची गुरुङ लाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना
यस वर्ष पदोन्नति हुनुभएका सदस्यज्यूहरू, छोरी–ज्वाँइहरू, नवविवाहित दम्पतीहरू, तथा शैक्षिक क्षेत्रमा सफलता हासिल गर्नुभएका विद्यार्थीहरूलाई पनि अध्यक्षले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। बिहान ११:३० बजे सुरु भएको वार्षिक भेला बेलुका ९ बजे सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमको सम्पूर्ण सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण इष्टमित्र, सदस्य, पदाधिकारी, चेलिबेटी तथा स्वयम् सेवकहरूप्रति समाजले हार्दिक आभार व्यक्त गरेको छ।
पृष्ठभूमि:
श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युके सन् २००८ जुलाई १२ मा स्थापित एक गैर-नाफामूलक संस्था हो। पर्वत जिल्ला, कुस्मा नगरपालिका–१४, गण्डकी प्रदेशअन्तर्गत पर्बत, कास्की र स्याङ्जाको सिमानामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको पञ्चासे डाँडाको फेदीमा रहेको आर्थर डाँडाखर्क गाउँका प्रवासी नेपालीहरूलाई संगठित गर्दै, आपसी समझदारी, सहयोग, सांस्कृतिक संरक्षण तथा एकताको भावना विकास गर्ने उद्देश्यका साथ समाजको स्थापना गरिएको हो।
शिब कुमार गुरुङ
लन्डन
नव बिवाहित जोडि समिर र ममता लाई हार्दिक बधाई तथा सुखद दाम्पत्य जीवनको मंगलमय शुभकामना
श्री पन्चकोशी आर्थर डाँडा खर्क समाज युके का नव सदस्य श्री ईच्छे गुरुङलाई समाजमा हार्दिक स्वागत

















