१७ औं नेपाली मेलामा तमु समाज युकेको उत्साहपूर्ण सहभागिता मौलिक झाँकीमा झल्कियो तमु पहिचान


१७औँ नेपाली मेलामा तमु समाज युकेको उत्साहपूर्ण सहभागिताले मौलिक झाँकीमा तमुको पहिचान झल्कियो!

तमु धीं यूकेको आयोजना तथा नेपाली राजदूतावास, लन्डनको सहकार्यमा ३० अगस्ट २०२६ मा केम्प्टन पार्कमा सम्पन्न १७औँ नेपाली मेलामा तमु समाज यूकेले उत्साहपूर्वक सहभागिता जनाएको छ। मौलिक गुरुङ भेषभूषा, गीत, सङ्गीत र नृत्यसहित प्रस्तुत भएको समाजको टोलीले तमु समुदायको सांस्कृतिक पहिचान झल्काएको थियो।

मेलामा समाजका अध्यक्ष, पूर्वअध्यक्षहरू, आमा समूहका अध्यक्ष तथा पूर्वअध्यक्षहरू, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू, सदस्यहरू तथा युवा र बालबालिकासहित करिब १५० जनाको सहभागिता रहेको थियो। विभिन्न पुस्ताको उपस्थितिले समाजको आपसी एकता र मौलिक संस्कृतिप्रतिको लगाव दर्शाएको थियो।

“नेपाली मेलामा सहभागी बनौँ, नेपाली कला–संस्कृतिको जगेर्ना गरौँ” भन्ने नारासहित सहभागी समाजका सदस्यहरूले मादल र झ्यालीको तालमा “जाऔँ जाऔँ लाग्यो नेपाली मेला, सबै जना भेट हुने यही बेला” बोलको गीत गाउँदै झाँकी प्रस्तुत गरेका थिए। समाजले यस वर्ष प्रतिस्पर्धामा भाग नलिए पनि मौलिक सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकहरूको ध्यान आकर्षित गरेको थियो।

झाँकी प्रस्तुतिका क्रममा तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले समाजको परिचय तथा गतिविधिबारे संक्षिप्त मन्तव्य राख्नुभएको थियो। उहाँले नेपाली मेला विविधताभित्रको एकता प्रदर्शन गर्ने तथा भावी पुस्तालाई भाषा, कला र संस्कृति हस्तान्तरण गर्ने साझा मञ्च भएको बताउनुभयो। सन् २००७ मा स्थापित समाज सबैको योगदानबाट ६५० भन्दा बढी आजीवन सदस्य रहेको सामाजिक तथा परोपकारी संस्थाका रूपमा विकसित भएको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई आफ्नो जरा, मातृभूमि र पहिचानसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष घलेले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि समाजले केही दिनभित्रै नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिँदै उहाँले विपत्तिको घडीमा मातृभूमि र प्रभावित समुदायका साथ उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आयोजकप्रति धन्यवाद व्यक्त गर्दै नेपाली एकता र संस्कृति संरक्षणमा हातेमालो गर्न सबैलाई आह्वान गर्नुभयो।

समाजका उपाध्यक्ष तथा झाँकी संयोजक केदार बहादुर गुरुङ र सल्लाहकार धरमबल गुरुङको संयोजनमा झाँकी प्रस्तुत गरिएको थियो। नृत्य प्रस्तुतिमा आमा समूहकी अध्यक्ष बिमला गुरुङ, पूर्वअध्यक्ष माया गुरुङ, सल्लाहकार टिका गुरुङ, सदस्य रितु गुरुङ तथा युवा सदस्यहरू प्रज्जु गुरुङ र सृष्टि गुरुङ सहभागी थिए।

त्यसैगरी, सल्लाहकार बिजु गुरुङ, सदस्य कल्पना गुरुङ, आमा समूहकी सचिव रमिला गुरुङलगायत दिदीबहिनीहरूले सामूहिक गायनमा साथ दिएका थिए। समाजका पूर्वअध्यक्ष अर्जुन कुमार गुरुङ र सल्लाहकार धरमबल गुरुङको नेतृत्वमा रहेको मादल टोलीले एकै तालमा मादल बजाउँदै प्रस्तुतिमा थप रौनक भरेको थियो।

झाँकीमा सहभागी दिदीबहिनीहरूका लागि अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले समाजको लोगो छापिएका मलमलका पछ्यौरा प्रायोजन गर्नुभएको थियो। त्यस्तै, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले पुरुष सहभागीहरूका लागि गुरुङ पोसाकको महत्त्वपूर्ण अङ्ग भाङ्ग्रामा समाजको लोगो छपाएर उपलब्ध गराउनुभएको थियो।

मेलामा सहभागी हुन समाजका सदस्यहरू बिहान करिब १० बजे समाजघरबाट दुईवटा मिनिबसमा प्रस्थान गरेका थिए। अन्य सदस्यहरू निजी सवारीसाधनमा पुगेका थिए भने बिहान करिब ११ बजेसम्म समाजको टोली केम्प्टन पार्कमा भेला भएको थियो। समाजले आफ्ना सहभागी सदस्यहरूका लागि प्रवेश टिकटको समेत व्यवस्था गरेको थियो। टिकट वितरणको जिम्मेवारी उपाध्यक्ष भीम बहादुर गुरुङ र सुरक्षा सचिव बुद्धि बहादुर गुरुङले सम्हाल्नुभएको थियो।

आमा समूहका दिदीबहिनीहरूले विभिन्न परिकारका खाना तथा पेयपदार्थ प्रायोजन गरी सहभागीहरूका लागि भोजनको व्यवस्था गर्नुभएको थियो। झाँकी प्रस्तुति सकिएपछि समाजका सदस्यहरूले सामूहिक रूपमा भोजन गरेका थिए। त्यसपछि विभिन्न संघ–संस्थाका सांस्कृतिक कार्यक्रम हेर्नुका साथै मेलाका स्टलहरूको अवलोकन, किनमेल र आपसी भेटघाट गरेका थिए।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न मेलाको औपचारिक कार्यक्रममा नेपाली राजदूतावास, लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। नेपालबाट आउनुभएकी पूर्वउपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

मेला संयोजक तथा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष जुमकाजी गुरुङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। औपचारिक कार्यक्रमको सञ्चालन महासचिव डा. विशाल गुरुङ र सचिव बिमल गुरुङले गर्नुभएको थियो। मञ्चीय तथा सांस्कृतिक कार्यक्रमको उद्घोषण सूर्य गुरुङ र हेलिशा गुरुङलगायतले गर्नुभएको थियो।

यस वर्ष झाँकी तथा नृत्यमा उत्कृष्ट प्रस्तुति दिँदै पासा पुचः गुठी यूकेले एम्बासडर कप जितेको थियो।

सांस्कृतिक पहिचानको संरक्षणसँगै यस वर्षको मेला मातृभूमिमा विपत्तिमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यसँग पनि जोडिएको थियो। नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आयोजक तमु धीं यूकेले मेलाबाट प्राप्त हुने सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

सांस्कृतिक विविधता, सामुदायिक एकता र मानवीय सहयोगको सन्देशसहित सम्पन्न मेलामा तमु समाज यूकेको सहभागिताले मौलिक संस्कृति संरक्षण, पुस्तान्तरण र सामुदायिक सहकार्यप्रतिको प्रतिबद्धता उजागर गरेको थियो।

शिब कुमार गुरुङ

तमु समाज युके

Previous बाढीपीडितहरुको सहयोगका लागि हार्दिक अपिल !
Next १० दिनपछि त्रिशूली–३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार