तमु समाज युकेको विशिष्ट समाजसेवा सम्मानबाट निर्वतमान अध्यक्ष शिब कुमार र पूर्व उपाध्यक्ष कन्याप्रसाद सम्मानित


तमु समाज युके  बिशिष्ट समाज सेवा सम्मान(Lifetime Achievement) २०२५ बाट सम्मानित ब्यक्तिवहरु

गोर्खा मिडिया संबादाता-:

लन्डन । तमू समाज युकेले सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विशिष्ट समाजसेवा सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड–२०२५) प्रदान गरेको छ ।

तमू ल्होसार/ल्होछार पर्वको अवसरमा ४ जनवरीका दिन लण्डनस्थित ह्यारो लेजर सेन्टरको बाइरोन हलमा काउन्सिल लिडर लण्डन बारो अफ ब्रेन्टका काउन्सिलर मोहमेद बटको विशेष उपस्थितिमा लामो समयदेखि सामाजिक क्षेत्रमा योगदान दिएका पुराना सामाजिक अभियन्ताहरुलाई अवार्ड प्रदान गरेको हो।

समाजको स्थापनाकालदेखि नै अनवरतरुपमा विभिन्न पदमा रहेर काम गर्दैगर्दा तमू समाज युकेको संरक्षण, सम्बर्द्वन र विकासका निम्ति अतुलनीय योगदान दिएका तमू समाज युकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरूङ र पूर्वउपाध्यक्ष तथा सल्लाहकार कन्याप्रसाद गुरूङलाई ‘तमू समाज युके विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम अचिभमेन्ट एवार्ड–२०२५) प्रदान गरिएको तमू समाज युकेकी अध्यक्ष विन्दुकुमारी गुरूङ घलेले जानकारी दिइन्।

सम्मानित व्यक्तिसँगै उनीहरुका जीवनसाथीलाई खादा र दोसल्ला ओढाउनुका साथै पुष्प गुच्छा प्रदान गरिएको थियो।

 तमु समाज युके उत्कृष्ट समाज सेवा बाट सम्मानित ब्यक्तित्बहरु

यसैगरी तमू समाज युकेले प्रत्येक वर्ष ल्होसार/ल्होछारको अवसरमा सामाजिक कार्यमार्फत समाजमा पुर्‍याएको योगदानका आधारमा ‘तमू समाज युके उत्कृष्ट समाज सेवा सम्मान’बाट पाँच जना समाजसेवीहरुलाई ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरेको छ। संस्थाका सल्लाहकारहरु लेख गुरूङ, कमलबहादुर गुरूङ, नारायणसिंह गुरूङ, आमा समूहकी कार्यसमिति सदस्य लक्ष्मी गुरूङ र युवा समूहका निर्वतमान अध्यक्ष ओमकार गुरूङलाई सम्मान गरिएको तमू समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए।

सोही अवसरमा नेपालबाट तमू धीं युकेको रजत जयन्तीको लागि वेलायत आएका तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरूङ, तमू समाज युकेको निमन्त्रणामा वेलायत आएका तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरूङ र मन्जुश्री बालबालिका संरक्षण केन्द्रकी संस्थापक तथा प्रबन्ध निर्देशक माया (दोर्जे डोल्मा) गुरूङलाई भव्य स्वागत गर्नुका साथै नेपाली समुदायमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै ‘तमू समाज युके विशिष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरिएको समाजकी अध्यक्ष घलेले बताइन्।

तमु समाज युके बिशिष्ट समाज सेवा सम्मान २०२५ बाट तमु धीं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ सम्मानित

तमु समाज युके बिशिष्ट समाज सेवा सम्मान २०२५ बाट

तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरूङ सम्मानित

तमु समाज युके बिशिष्ट समाज सेवा सम्मान २०२५ बाट मन्जुश्री बालबालिका संरक्षण केन्द्रकी संस्थापक तथा प्रबन्ध निर्देशक माया (दोर्जे डोल्मा) गुरूङलाई सम्मानित

 तमु समाज युकेका आजीवन सदस्य क्याप्टेन बुद्धिराज घले र उनकी धर्मपत्नी डीना गुरूङलाई पदउन्नति हुनु भएकोमा तमु समाज युके द्वारा बधाई तथा शुभकामना ।

तमू धीं युकेका अध्यक्ष जुमकाजी गुरूङ, तमू धीं युकेका आमा समूहकी अध्यक्ष कमला गुरूङ, पत्रकार महासंघ युकेकी अध्यक्ष विमला सेनेलाई बधाई ज्ञापनसँगै सम्मान प्रदान गरेको थियो। British Army Warrant Officer Class 2 (WO2) बाट British Army Captain पदमा पदोन्नति भएका तमू समाज यकेका आजीवन सदस्य बुद्धिराज घले र उनकी धर्मपत्नी डीना गुरूङ घलेलाई समाजको तर्फबाट खादा, फेटा र दोसल्ला ओढाउनुका साथै पुष्प गुच्छा प्रदान गरी बधाइ ज्ञापन गरिएको समाजकी अध्यक्ष विन्दुकुमारी गुरूङ घलेले जानकारी दिइन्।

तमु धीं युकेका नव निर्वाचित अध्यक्ष जुम काजी गुरुङ  तथ आमा समूहका अध्यक्ष कमला देवी गुरुङलाई

तमु समाज युके द्वारा बधाई तथा शुभकामना।

यस्तै तमू समाज युकेको सामुदायिक भवन खरिद परियोजनमा आर्थिक सहयोग प्रदान गर्ने दानवीर दाता एवम् तमू समाज युकेका सल्लाहकारहरु ले.रि. पञ्चबहादुर गुरूङ तथा श्रीमती रेणुमाया गुरूङ, तमू प्ये ल्हु संघ युकेका पूर्व अध्यक्ष सोम त्होर्जे तमू, तमू प्ये ल्हु संघ युके आमा समूहकी अध्यक्ष बबिता गुरूङ, तमू समाज युकेका आजीवन सदस्य जमानसिंह गुरूङ र श्रीमती विजय गुरूङलाई फेटा, खदा, दोसल्लासहित ताम्रपत्रसहित सम्मान गरिएको थियो।

शुभकामना मन्तव्य दिँदै समाजका निर्वतमान अध्यक्ष शिवकुमार गुरूङले तमू समाज युकेको स्थापना कालदेखि समाजमा निष्ठापूर्वक विभिन्न पदमा रहेर काम गर्ने मौका पाएको बताए। उर्जाशील जीवनमा सामाजिक कार्यमा दिएको योगदानको मूल्याङ्कन गरेर आफूलाई सम्मान गरेको विषयमा तमू समाज युकेप्रति आभार प्रकट गरे। ‘मैले पाएको सम्मानले आगामी दिनमा पनि निरन्तरूपमा सामाजिक सेवामा लागिरहन उर्जा मिलेको महसुस भएको छ,’ उनले भने।

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरूङले तमू समाज युकेले प्रदान गरेको सम्मान सधैँ शिरोपर गरेर सकारात्मक भावनाका साथ तमू समुदायको हितमा काम गर्ने प्ररणा मिलेको प्रतिकृया दिए। तमूहरु जुनसुकै संस्थामा आवद्ध भएर काम गरे पनि भावनामा एक हुनुपर्ने उनले बताए।

नेपाल पत्रकार महासंघ युकेका नव निर्वाचित अध्यक्ष बिमला सेनेलाई तमु समाज युके द्वारा बधाई तथा शुभकमना।

तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरूङले तमूहरु जुनससुकै देशमा रहे पनि आफ्नो जातिको धर्म, संस्कार, संस्कृति, भाषा र भेषभूषालाई बिर्सन नहुने सुझाव दिए। ‘हाम्रो समुदायको ती सबै सम्पत्ति संरक्षणमा हामी सबैले हातेमालो गरेर योगदान दिनुपर्छ,’ उनले भने। उनले सोही अवसरमा नेपालबाट ल्याएको मायाको चिनो तमू समाज युकेकी अध्यक्ष विन्दुकुमारी गुरूङ घलेलाई प्रदान गरेका थिए।

तमू धीं युकेका अध्यक्ष जुमकाजी गुरूङले तमू समाज युकेसँग तमू धीं युकेको सम्बन्ध प्रगाढ हुँदै गएको दाबी गरे। आगामी दिनमा सबै तमूहरुलाई एकतामा ल्याउन दुवै संस्था मिलेर काम गर्नुपर्नेसमेत उनले बताए।

Previous तमु समाज युकेले ग्रह शान्ती शुध्दीकरण पूजा सम्पन्न गर्यो
This is the most recent story.