लण्डन युके: तमु समाज युकेको १८औं साधारण सभा ३१ मे शनिबारका दिन विम्बलीस्थित वारहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री शुब घलेले गर्नुभएको थियो। सभा प्रारम्भ हुनु अघि समाजकी अध्यक्ष श्रीमति बिन्दु कुमारी गुरुङ/घले, संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमति विमला गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी सभाको विधिवत् उद्घाटन गर्नुभयो।
सभामा महासचिव श्री शुब घलेले हेल्थ एण्ड सेफ्टीका बारेमा प्रकाश पार्नुभयो भने समाजका वरिष्ठ उपाध्यक्ष श्री भीम बहादुर गुरुङले स्वागत मन्तव्य दिनुभयो। त्यसपछि समाजका पूर्व अध्यक्षहरू क्रमशः श्री शिवचन्द्र गुरुङ, श्री अर्जुन गुरुङ, निवर्तमान अध्यक्ष श्री शिव कुमार गुरुङ र संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङले समाजको स्थापना, उद्देश्य र समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउँदै आएको परोपकारी कार्य तथा धर्म–संस्कार संस्कृतिको जगेर्ना गर्ने योगदानबारे चर्चा गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
त्यसपछि महासचिव श्री शुब घलेले समाजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। आमा समूहको वार्षिक प्रगति विवरण समाजकी आमा समूह अध्यक्ष श्रीमति विमला गुरुङले प्रस्तुत गर्नुभयो। युथ ग्रुपका अध्यक्ष श्री प्रज्वल गुरुङ अनुपस्थित भएकाले यसपटक युथ ग्रुपको प्रतिवेदन प्रस्तुत हुन सकेन।
पूर्वनिर्धारित कार्यक्रम तालिका अनुसार समाजले आगामी वर्ष आयोजना गर्ने चाडपर्व र अन्य कार्यक्रमहरूको विषयमा विस्तृत छलफल गरी मिति निर्धारण गरियो। त्यसपछि खानाको विश्राम लिइयो। समाजकी आमाहरूले तयार पार्नुभएको स्वादिष्ट खानाको आनन्द लिँदै छोटो विश्रामपछि सभा पुनः सुरु भयो।
दोश्रो चरणको कार्यक्रममा समाजका कोषाध्यक्ष श्री चन्द्रकान्त गुरुङले यो वर्षको आम्दानी–खर्च विवरण प्रस्तुत गर्नुभयो। हाउजिङ प्रोजेक्टसम्बन्धी आर्थिक विवरणमा निवर्तमान अध्यक्ष श्री शिव कुमार गुरुङले थप प्रष्ट पार्ने भूमिका निर्वाह गर्नुभयो।
त्यसपछि सभा एजेण्डामा उल्लिखित विभिन्न विषयहरूमा छलफल भयो। ती विषयहरूमा ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ र उत्कृष्ट समाज सेवा सम्मानपत्र वितरण, युवाहरूलाई समाजको मूलधारमा ल्याउने प्रेरणा, वार्षिक गृष्मकालीन भ्रमण कार्यक्रम, समाजको भवन र सामुदायिक भवनको भाडा परिमार्जन तथा व्यवस्थापन, तमु समाज युकेले राष्ट्रिय लटरी कोषबाट प्राप्त गरेको अनुदान रकमको व्यवस्थापन र उपयोग, साथै बुद्ध जयन्ती तथा बैशाख पूर्णिमाको अवसरमा घाँटु नाच आयोजना गर्ने सम्बन्धमा विशेष छलफल भयो। साथै, समाजको विधान परिमार्जन र अन्य विविध विषयमा पनि गहन छलफल गरी आवश्यक निर्णयहरू गरियो।
सभाको अन्त्यमा सभाध्यक्ष श्रीमति बिन्दु कुमारी गुरुङ/घलेले उपस्थित सबै सदस्यहरूलाई कार्यक्रम सफल बनाउन दिएको अमूल्य समय, सक्रिय सहभागिता र आमा समूहद्वारा व्यवस्थापन गरिएको स्वादिष्ट भोजनका लागि धन्यवाद ज्ञापन गर्दै करिब साँझ ७ बजे सभाको विधिवत् समापनको घोषणा गर्नुभयो।
त्यसैगरी, सभापछि तमु धी युकेको निमन्त्रणामा गोर्खा कपको अवसरमा नेपालस्थित पोखराबाट युके आउनुभएका युवा व्यवसायी श्री अरुण कुमार गुरुङलाई, कोभिड–१९ महामारीको समयमा तमु समाज युकेले नेपालमा राहत वितरण गर्ने कार्यक्रममा उहाँले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै, तमु समाज युकेकी अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्षद्वारा खादा, फेटा र फूल अर्पण गरी समाजको लोगो अंकित प्लाक ‘मायाको चिनो’ प्रदान गर्दै भव्य स्वागत तथा सम्मान गरियो। उक्त समयमा राहत वितरण कार्यक्रमको नेतृत्व तमु समाज युकेको आमा समूहकी पूर्व अध्यक्ष श्रीमती माया गुरुङ र तमु समाज युकेको आजीवन सदस्य तथा सोंपाल समाज युकेका पूर्व उपाध्यक्ष श्रीमती पार्वती गुरुङले गरी महत्वपूर्ण भूमिका निभाउनु भएको थियो।
सम्मान ग्रहण गर्दै युवा व्यवसायी श्री अरुण कुमार गुरुङले तमु समाज युकेको यस सम्मान र मायाको चिनोप्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गर्नुभयो।
यसरी, तमु समाज युकेको १८औं साधारण सभा उत्साहपूर्वक सम्पन्न भएको छ।
नारयण सिंह गुरुङ