बेलायतमा निधन भएकी विद्यार्थीको परिवारलाई तमु समाज यूकेको २५०५ पाउण्ड सहयोग


बेलायतमा निधन भएकी विद्यार्थीको परिवारलाई तमु समाज यूकेको २५०५ पाउण्ड सहयोग

लन्डन । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई तमु समाज यूकेले २, ५०५ पाउण्ड आर्थिक सहयोग गरेको छ ।

लन्डन बारहम पार्कस्थित २६ डिसेम्बर २०२३ को दिन  तमु समाज यूके भवनमा  एक कार्यक्रम आयोजना गरि सहयोग रकम समाजका अध्यक्ष शिव कुमार गुरुङले कमलाका श्रीमान निरज गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

बेलायत आगमनको छोटो समयमै पत्नी वियोगको अत्यन्तै कठिन पीडा सामना गरिरहेका निरज गुरुङको परिवारलाई केही हदसम्म भएपनि राहत पुगोस् भन्ने हेतुले समाजले आफ्ना सदस्यहरु लगायत शुभचिन्तकबाट आर्थिक संकलन गरेको थियो । स्काई कम्पनी लन्डनमा कार्यरत नेपालीबाट पनि सहयोग प्राप्त भएको थियो ।

कोल्मा बहाकोट समाज यूकेको तर्फबाट अध्यक्ष चन्द्र गुरुङले स्व. गुरुङको परिवारलाई आर्थिक सहयोगका निम्ति आग्रह गरेपछि समाजले चन्दा संकलन शुरु गरेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ लगायत स्वर्गीय कमलाका आफन्तजन र तमु समाज यूके पदाधिकारीको उपस्थिति थियो ।

कार्यक्रम समाजका महासचिव धरम बल गुरुङले संचालन गरेका थिए । सो अवसरमा समाजका अध्यक्ष शिवकुमार गुरुङले स्वर्गीय कमलाको परिवारका लागि आर्थिक सहयोग गर्ने सबै दाताहरुप्रति आभार व्यक्त गरे । कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङले पनि आफ्नो अनुरोध स्वीकार गरि सहयोग गरेकामा समाजका सम्पूर्ण सदस्य र अन्य चन्दादाताप्रति हार्लिक धन्यवाद ज्ञापन गरे ।

नेपालमा गण्डकी प्रदेश, स्याङ्जा बिरुवा गाउँपालिका- ४ ओरस्टे गाउँ निवासी कमला उच्चशिक्षा हासिल गर्ने सुन्दर सपना सांचेर बेलायत आएको केही दिनमै बिरामी परिन् । तर, दुर्भाग्य उपचारका क्रममा गत डिसेम्बर ३ तारिख रेडिङस्थित रोयल बर्कसायर अस्पतालमा उनको निधन भयो ।

स्वर्गीय कमलाको गुरुङ संस्कार अनुसार २७ डिसेम्बर बुधबार रेडिङस्थित क्याभरसम क्रिमेटोरियममा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रम कोल्मा बहाकोट समाज यूकेले संयोजन गरेको थियो ।

Previous तमु समाज युकेद्वारा तमु धिं नेपाल संग्रहालयामा घाटु नाचको प्रतिमा स्थापना
Next तमु समाज युकेले भब्य रुपले मनायो मुप्री ल्होछार २०२४